नेफ्स्कून को २५ औं साधारणसभा

This post is also available in: Nepali

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २५ औं साधारणसभा पौष १ गते काठमाडौंमा विशेष कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विश्व ऋण परिषद्द्वारा जारी गरिएका सहकारीका चार सिद्धान्त झल्किने समृद्धिको दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ठ अतिथिहरुमा राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद केशव बडाल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधान, सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मी, राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष एवं नेफ्स्कूनका सल्लाहकार मिनराज कँडेल, राष्ट्रिय सहकारी संघका निवर्तमान अध्यक्ष दीपक प्रकाश बास्कोटा, नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, नेकपा एमालेका नेता एवं सहकारी विभाग प्रमुख पशुपति चौलागाईं, नेकपा माओवादी केन्द्रका सहकारी विभागका केशव नेपाल लगायतले बचतको प्रतीकका रुपमा परिचित खुत्रुकेमा सिक्का खसालेर सामुहिक उद्घाटन मार्फत कार्यक्रमलाई हौसला प्रदान गर्नुभएको थियो ।
समुद्घाटन समारोहमा बोल्ने क्रममा मन्त्री थानीले हिमाल, पहाड र तराईका जिल्ला जिल्लाबाट सहकारी अभियानमा जोडिएका दिदीबहिनीहरुले गास काटेर जम्मा गरेको रकमको अवमूल्यन नहोस भन्ने उद्देश्यसहित मन्त्रालयले सहकारी मैत्री ऐन ल्याउन विशेष पहल गरिरहेको बताउनुभयो । नेपाल सहकारीको उर्वर भूमि हो भन्ने कुरा स्थापित गर्न र सहकारी हेर्ने हो भने नेपाल नै जानुपर्छ भन्नेमा अन्तराष्ट्रिय छवि निर्माण गर्ने हेतुले काम गर्न आवश्यक रहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सांसद केशव बडालले एशिया प्रशान्त क्षेत्रबाट नेपालका १२ सहकारीहरुलाई एशियालीस्तरको ब्राण्ड प्रदान गराउन नेफ्स्कूनले गरेको प्रयास सहनीय रहेको बताउँदै सहकारी मैत्री ऐन ल्याउन साकोस अभियानकर्मीहरुलाई दबाबमूलक कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभएको थियो । सहकारी क्षेत्रमा देखिएको असमानताको अन्त्य गर्न, उत्पादनशील क्षेत्रमा लगानी बढाउन र वित्तीय कारोबारमा आम जनताको सहभागिता बढाउन सहकारी अभियान अगाडि बढ्नुपर्ने अनिवार्य रहेको औल्याउनुभयो ।
नेफ्स्कूनका महासचिव परितोष पौड्यालबाट कार्यक्रमको सञ्चालनका साथै नेफ्स्कूनको निर्देशक कार्यदिशा, भावी मार्गचित्र, बचत सहकारीको बृद्धि र विकास साथै विश्व सहकारीको इतिहाँसमा नेपालका बचत सहकारीहरुको स्थान समेटिएको संक्षिप्त प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेफ्स्कूनको २९ औं स्थापना दिवसको अवसरमा घोषित पुरस्कार, कदरपत्र, सम्मानपत्र, प्रशंसापत्रबाट सम्मानित व्यक्ति तथा संघ/संस्थालाई पुरस्कृत भएको विवरण प्रस्तुत गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुबाट कदरपत्र, सम्मानपत्र, प्रशंसापत्र लगायत मायाको चिनो प्रदान गरिएको थियो ।

a-1-2

a-1-2-3-4