बधाई एवं शुभकामना आदान प्रदान

This post is also available in: Nepali

नेफ्स्कूनको बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन हुनुभएका सचिव शारदा प्रसाद त्रितालको स्वागत एवं यस वर्ष एशियाली ऋण महासंघबाट एशियाली स्तरको ब्राण्ड प्राप्त गर्न सफल साकोसहरुको सम्मानमा असोज १२ गते काठमाण्डौमा बधाई एवं शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सांसद केशव वडालले नेपालको शीर उँचो राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आफ्नो सिकाईलाई समग्र सहकारी अभियानको सिकाईमा बदल्न भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । एक्सेस ब्राण्ड प्राप्त गर्न सफल साकोसहरु सिकाईका लागि गुरुकु भएकोले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनु पर्ने जिम्मेवारी थपिएको भन्दै राज्यले सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण सच्याउन जरुरी भएको बताउनु भयो । सहकारीले सानो मात्र कारोबार गर्नु पर्दछ भन्ने मानसिकता राज्य सञ्चालनका तहमा बस्ने कतिपयमा विद्यमान रहँदा प्रभाकारी भूमिका देखिन नसकेको भन्दै ५० पैसा जम्मा गर्ने अभियानबाट सुरु भएको विकु साकोस एशियाली स्तरमा सफल बन्नु गौरवको विषय मात्र होइन राज्यले हेर्नुपर्ने उदाहरण समेत हो भन्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी तथा गरिबी निवारण सचिव शारदा प्रसाद त्रितालले सहकारी अभियानमा समेत राज्यलाई बुझ्ने तरिकामा केही सच्याउनु पर्ने भन्दै मन्त्रालय वा सरकारका निकायहरु नियामक भन्दा बढि सहजकर्ता र उत्प्रेरक हुन् भन्नुभयो । नेपालका साकोसले अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गरी नेपालको गौरव बढाएको भन्दै बधाई ज्ञापन गर्नुभयो । सहकारी समुदायमा आधारित संस्था भएकोले उनिहरुले सकारात्मक कार्य गर्दा राज्यले सदैव सहयोग र सहजिकरण गर्ने भन्दै मन्त्रालय र विभाग संग सहकार्य गरेर अगाडी बढ्नु पर्ने भन्दै राज्यको अर्थतन्त्रका तीन खम्बा मध्ये एउटा महत्वपूर्ण खम्बा सहकारी भएकोले सहकारी क्षेत्रको देश विकासमा समेत महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिंदै एशियाली ऋण महासंघको प्रथम उपाध्यक्षमा निर्वाचित संघका अध्यक्ष ऋषिराज घिमिरेलाई समेत बधाई ज्ञापन गर्नुभयो ।

सहकारी विभागका रजिष्ट्रार केशव राज रेग्मीले सफल साकोसहरुलाई बधाई ज्ञापन गर्दै सहकारीको मर्म र भावनालाई अझ उदाहरणीय रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका महासचिव परितोष पौड्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डी.बी. बस्नेतले कार्यक्रमका अतिथि, सफल साकोसका प्रतिनिधि एवं उपस्थित सम्पूर्णलाई स्वागत एवं नेपालको समग्र साकोस अभियानको सफलता भएकोले सबैलाई बधाई ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेपालको साकोस अभियानको अवस्था, नेफ्स्कूनले लिएको नेतृत्व एवं एक्सेस कार्यक्रममा सफल साकोसहरुको अवस्था र उनिहरुबाट प्राप्त सिकाई सहितको प्रस्तुतिकरण गर्नुभएको थियो ।

एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा विगत एक दशक देखि नेफ्स्कूनले सञ्चालनमा ल्याएको एक्सेस कार्यक्रममा एशियाबाट नेपालले निरन्तर उत्कृष्टता हासिल गरिरहेको छ । यस वर्ष नेपालका ४ वटा साकोसले सिल्भर (रजत) स्तर र ८ वटाले ब्रोन्ज (कास्य) स्तर गरी कुल १२ वटा साकोसले सफलता प्राप्त गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि केशव वडालले संघका अध्यक्ष आकुको प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुका साथै सचिव त्रिताललाई सहकारी अभियानको तर्फबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवं नेफ्स्कून सल्लाहकार मिनराज कँडेल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवद्वय सुरेशमान प्रधान र काशीनाथ मरासिनी, डिभिजन सहकारी कार्यालय काठमाण्डौका प्रमुख नारायण अर्याल, एक्सेस ब्राण्ड प्राप्त साकोसका अध्यक्ष, पदाधिकारी एवं व्यवस्थापकहरु, सञ्चारकर्मीहरु, संघका सञ्चालक एवं लेखा समितिका पदाधिकारी एवं सदस्यहरु र संघका कर्मचारीहरु लगायत ६० जनाको उपस्थिति रहेको थियो ।