विप्रेषणको सदुपयोग गरौं

विप्रेषणको सदुपयोग गरौं

सनत सापकोटा

आर्थिक वर्ष २०५०/५१ मा जम्मा ३ हजार ६सय ५ जना वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १३ हजार जना व्यक्तिहरुले श्रम स्वीकृतिलिई वैदेशिक रोजगारीमा गएका छन । वैदेशिक रोजगारीमा औशतमा १५०० व्यक्तिहरु दैनिक वैदेशिक रोजगारीमा जाने गर्दछन ।
आ.व. २०७२/७३ सम्ममा रोजगारीका लागि मुलुकबाहिर जाने नेपालीको संख्या ४३ लाख ७८ हजार पुगेको छ । परिणाम स्वरूप आ.व. २०५०/५१ मा विप्रेषण आप्रवाह रु. २ अर्ब १५ करोड रहेकोमा आ.व. २०७१/७२ मा रु. ६ खर्ब १७ अर्ब रह्यो जसको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.१ प्रतिशत हुन आउँछ । आ.व. २०७२/७३ मा विप्रेषण आप्रवाह वृद्धि भई रु. ६ खर्ब ६५ अर्व पुगेको छ भने कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.६ प्रतिशत पुगेको छ । नेपालले प्राप्त गर्ने विप्रेषण सम्पूर्ण विदेशी अनुदान भन्दा दशौं गुणाले बढी छ त्यस्तैगरी नेपालबाट वस्तू निर्यातबाट आम्दानी हुने रकम भन्दा २.३ गुणा बढी छ । मलेशिया तथा खाडी मूलुकबाट आउने विप्रेषणले कुल विप्रेषणको आधा भन्दा बढी अंश ओगटेको छ ।

बढ्दो विप्रेषणको प्रभावले नीजि उपभोगमा उल्लेख्य वृद्धि भएकोछ । गरिवीको रेखामुनी रहेको जनसंख्याको प्रतिशतमा भारी गिरावट आएको छ । वालवालिकाको शिक्षा स्वास्थ्यको गुणस्तरमा सुधार आएको छ । व्यवसायिक तथा सेवा क्षेत्रले नाफावृद्धि गरिरहेको छ । यस्तो स्थिति मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिको परिणाम नभई विदेशमा रहेका नेपालीहरुले पठाएको विप्रेषणको परिमाणको आधारमा भएको हो । नेपालको आयातमा वृद्धि र ठुलो व्यापार घाटा हुँदा हुँदै पनि देशको अर्थतन्त्र चलायमान रहनुमा विपे्रषणको ठुलो भूमिका रहेको छ ।
प्राप्त विप्रेषणको भारी ठुलो भए पनि यसको प्रयोगको दिशाले दिगोपनालाई निर्देशित गरिरहेको पाईदैन । आम्दानी र वचत भन्दा पनि खर्च बढी गर्ने चलन कायमै छ ।
केन्द्रिय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार करिव ५६प्रतिशत घरधुरीले विप्रेषण सेवा प्राप्त गरेका छन । तराइ क्षेत्रमा ३ घरमा २ घरले र पहाडी भेगमा २ घरमा १ घरले विप्रेषण प्राप्त गर्दछ । ७९ प्रतिशत दैनिक उपभोग्य सामानको खरिदमा, ७ प्रतिशत ऋण तिर्न, ५ प्रतिशत घरायसी सम्पत्ति खरिद गर्न, ४ प्रतिशत, शिक्षा प्राप्त गर्न २ प्रतिशत उत्पादन मुलक लगानीमा र वाँकी ३ प्रतिशत अन्य क्षेत्रमा लगानी भएको पाइएको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नेफ्स्कूनले सर्लाही, रामेछाप र खोटाङ जिल्लाका ४५ वटा समुदायका ९२९ जनामा गरेको सर्भेक्षणको प्रारम्भिक आँकडा अनुसार केही मूख्य शिर्षकको विश्लेषणगरि हेर्दा वैंक तथा वित्तिय संस्थाहरुमा ५०% व्यक्तिहरुको पहुँच पुगेको देखाएको छ । अधिक संख्यामा पहुँच पुग्नुको कारणमा स्थानीय स्तरमा सक्रिय सहकारी संस्थाहरुको भूमिका उल्लेखनीय रहेको छ । तथापी पनि ऋण औपचारिक वित्तिय संस्थाहरुबाट ऋण लिनेको संख्या ८३ जना (९%), परिवारको सदस्यहरुको विमा गर्नेहरु ६४ जना(७%) मात्र रहेको छ जसले वैंक तथा वीमा सम्वन्धी सचेतनाको स्तर कमजोर रहेको देखाउँछ ।
दैनिक उपभोग्य वस्तुहरु भन्दा बाहेकका योजनाहरुको लागि वित्तिय लक्ष्य लिनेहरु १६६ जना (१८%) मात्र रहेको छ, प्राप्त विप्रेषण तथा पारिवारिक आम्दानीलाई वार्षिक रुपमा वजेट बनाई खर्च गर्नेको संख्या जम्मा २९ जना (३%) मात्र देखिएको छ । प्राप्त आम्दानीलाई व्यवसायमुलक कार्यमा लगाउने सोच सहितको व्यवसायिक योजना बनाउँनेहरु ३८ जना(४%) त्यस्तैगरी निर्वाहमुखी क्रियाकलापबाट वाहिर आई व्यवसाय नै सुरुवात गर्नेहरु ६ जना मात्र रहेको देखिएको छ ।
वित्तिय अनुसासनको पक्षमा हेर्दा आम्दानी खर्च लिखित रुपमा राख्नेहरु ५१(५%), लेनदेनको हिसाव लिखित रुपमै राख्नेहरु १०२ जना (११%) रहेको पाइयो । वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाँदा जम्मा १७१ जना (१८%)ले मात्र वैदेशिक रोजगारी सम्वन्धी कागजपत्रहरु घरमा छोडेर छोडिएको छ
परिवारको जर्जर अवस्थामा सुधार ल्याउनका लागि चर्को मूल्यमा ऋण लिएर वैदेशिक रोजगारीका लागि लगानी गरिएको हुन्छ । उनीहरु देशको विकास, समाजको विकास भन्दा पनि आधारभूत आवश्यकता पुरा गर्नका लागि देशमा उपर्युक्त विकल्पको पहिचान गर्न नसकेपछि वैदेशिक रोजगारीलाई रोज्न पुग्छन । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण रकम व्यक्तिको नीजि सम्पत्ति हो यस रकमलाई कुन क्षेत्रमा खर्च गर्ने भन्ने निर्णय नितान्त व्यक्तिगत निर्णय हो तर वैदेशिक रोजगारीलाई संस्कृतिको रुपमा विकास गर्ने र यसबाट हुने थुप्रै विकृतिहरुलाई रोक्नका लागि कठिन हुँदा हुँदै पनि उत्पादनमुलक लगानीका क्षेत्रमा विप्रेषणको प्रयोग गर्नु पारिवारिक समृद्धिको दिगोपनाका लागि एक उत्तम उपाय हुन सक्छ ।
सवैलाई चाँडै धनि हुने रहर छ । शान र शौकतको जीवन सवैलाई प्रिय लाग्छ तर रफ्तारको यात्रामा जोखिम पनि बढी हुन्छ । उपयुक्र्त तयारी विनाका व्यवसाय र लगानी डुब्न सक्छन । ढुकुटी, जुवातास खेल्ने, चर्को व्याजदरमा सापटी दिने जस्ता व्यवहारहरुले कालान्तरमा कसैलाई न कसैलाई डुवाएको नै हुन्छ ।
सबैजना धेरै कमाउने प्रतिस्पर्धामा मात्र लागेका छ तर कति कामाउँने भन्ने कुरा भन्दा कति बुद्धिमानीसित खर्च गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । एउटा सानो प्वालले पुरै जहाजलाई डुवाई दिन्छ । सानो खर्चले ठुलो घरबारवार विगारी दिन्छ । एक रुपैयाँ ठुलो होइन तर एक रुपैयाँ एकलाखबाट झिकेमा त्यो एक लाख रहँदैन । जसरी आम्दानी गर्नका लागि बुद्धिको आवश्यक पर्छ त्यसैगरी खर्च गर्नको लागि पनि बुद्धिको आवश्यकता पर्छ । कति कमाउँछौं भन्दा पनि कमाएको रकम कस्तो प्राथमिकतामा खर्च गरिन्छ र कति बचाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । परिवारमा आर्जित आम्दानीको वितरणमा परिवारका सदस्यहरुको सहभागिता हुन जरुरी छ यसको व्यवस्थापन परिवारको कुनै एकजना सदस्यको मात्र जिम्मेवारी होइन सबै सदस्यहरुले सहयोग गर्नु पर्छ ।

गत वर्षको आर्थिक सर्वेक्षणले विदेश गई फर्कने मध्ये नेपालमा आफ्नै व्यवसाय गर्नेको संख्या २२ प्रतिशत रहेको देखाएको छ । नेपाल एकिकृत व्यापार रणनीति २०१६ मार्फत सरकारले आगामी ५ वर्षभित्र वैदेशिक रोजगारीमा गई स्वदेश फर्केर आफ्नै व्यवसाय शुरु गर्ने नेपालीको संख्या हालको भन्दा दोब्बर बनाउँने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।
नेपाल सरकारको धेरैजसो योजनाहरु कागजमा मात्र सिमित हुने पनि गरेका छन तथापी पनि नेपाल एउटा संभावनाले भरिएको देश हो । अवसरको खाँचो छैन । अलैची, अदुवा, अर्थोडक्स चिया, कफि, जडिवुटी, पस्मिना, छाला जुत्ता, गलैंचा, माछा मासुजन्य उत्पादन, दुग्ध पदार्थ, पर्यटन तथा सेवा क्षेत्रहरुबाट स्वदेशमा नै रोजगारी सृर्जना गर्ने प्रसस्त अवसरहरु छन ।
यसको लागि सोच, सपना, संकल्प र सत्कर्मको खाँचो छ । हाम्रो अनुशासीत जीवनलाई अझ अनुशासीत बनाउँनु जरुरी छ ।
देशमा नै देशका लागि केही गर्नु नै दिगोपना हुन्छ । मलेशिया तथा साउदी अरवमा देखिएको केही अवरोधहरुको कारण विप्रेषण आप्रवाहको दर २ प्रतिशत घट्दा नै नेपालको अर्थतन्त्रमा देखिएको हलचललाई हेर्दा लाग्छ यसको ठुलो गिरावट आउँदा कस्तो अवस्था आउला । प्राप्त विप्रेषण श्रोत हाम्रो लागि विकासको मुख्य श्रोतहुन सक्छ ।
अहिले हाम्रो मुख्य निर्यात वस्तु नै मानवश्रम हुन पुगेको छ । युवा जोश जाँगरलाई साँचेर राख्न सकिदैन । मानव श्रमको एउटा आयु हुन्छ यसलाई पछि खर्च गरौंला भन्न सकिँदैन । त्यसैले समयमा नै
वचत तथा व्यवसाय वृद्धि मार्फत यसको दुरगामी नकारात्मक असरलाई कम गर्न सकिन्छ समयमा नै दिगो उपाय अपनाउन नसकेमा विप्रेषणः जान्नेका लागि श्रीखण्ड, नजान्नेका लागि खुर्पाको विँड हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *