सहकारीमार्फत आर्थिक समृद्धि सम्भव हुनेः भरतमोहन अधिकारी

सहकारीमार्फत आर्थिक समृद्धि सम्भव हुनेः भरतमोहन अधिकारी

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले मुलुकमा राजनीतिक आन्दोलनको यात्रा समाप्त भएर आर्थिक समृद्धिको यात्रा शुरु भएको बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा पुस २१ र २२ गते काठमाडौंमा सञ्चालित सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई संवोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो मुलुकमा नयाँ युगको प्रारम्भ भएको छ, राज्यले स्थीर सरकार पाउँदैछ, यस्तो अवसरमा आर्थिक विकासको एक प्रमुख खम्बाको रुपमा रहेको सहकारी क्षेत्रबाट आर्थिक समृद्धिको यात्रामा के कति योगदान र भूमिका रहेको छ, त्यसमा गहन अध्ययन हुन जरुरी छ । भर्खरै मात्र सहकारी ऐन २०७४ आएको छ । यो एउटा सहमतीको दस्तावेज हो, उहाँले भन्नुभयो ऐनमा भएका कमी कमजोरीलाई नियमावलीबाट स्पष्ट पार्नको निम्ति सम्पूर्ण अभियानकर्मीहरुले यसको गहन अध्ययन गर्नुहोस् र नयाँ सरकारलाई सुझाव दिनुहोस् ।

पूर्व माननीय एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले आर्थिक विकासका प्रमुख तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बा सहकारी भएको बताउँदै सहकारीले अन्तराष्ट्रिय मार्केटसँग प्रतिष्पर्धा गर्न सम्ने गरी खाद्यबस्तु उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो सहकारी क्षेत्रका क्रिम ब्रेनहरुले मुलुकको विकासका लागि पहल गर्नुहोस् त्यसमा असम्भव भन्ने केही छैन । सहकारीको उपस्थिति जहाँ न्यून रहेको छ, त्यस क्षेत्रमा गरिबीको अवस्था उच्च छ भन्दै प्रदेश नं २ मा सहकारी सम्बन्धी जागरण अभियान ल्याउन सहकारीकर्मीहरु समक्ष आग्रह गर्नुभएको थियो ।
पूर्व गभर्नर युवराज खतिवडाले सहकारी आन्दोलन स्वत स्फूर्त आन्दोलन हो, यो समाजको आर्थिक सामाजिक रुपान्तरणको अगुवा आन्दोलन भईसकेको बताउँदै अब सहकारीहरुमा अरुले नियमन गरिदिनुपर्ने अवस्थामा आउन नहुने कुरामा जोड दिनुभयो ।

नेकपा एमालेका सहकारी विभाग प्रमुख एवं नवनिर्वाचित प्रदेश सभा सदस्य पशुपती चौलागाईंले संसारकै सहकारी अभियान मध्येमा नेपालको सहकारी अभियानले छिट्टै अग्रता लिएको बताउनुभयो । उहाँले भन्नुभयो नेपालमा बचत तथा ऋण सहकारी आन्दोलन निकै अगाडि रहेको छ, अब यसलाई उत्पादनमुलक क्षेत्रमा परिचान गर्दै सामाजिक आर्थिक समृद्धि हाँसिल गर्नतर्फ लाग्नुपर्छ । सरकारले कृषि क्षेत्रमा दिएको अनुदानप्रति व्यङ्ग गर्दै उहाँले भन्नुभयो कृषकहरुका लागि यो बघिनीको दूध दुहेर खाउ भने जत्तिकै हो । राज्यले कृषि क्षेत्र र कृषकहरुप्रति उपेक्षा गरेको छ ।
त्यसैगरी पूर्वगृह मन्त्री एवं माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शक्ति बहादुर बस्नेत, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको सहकारी अभियान विगत, वर्तमान र भविष्य विषयक कार्यप्रत्र प्रस्तुत गर्दै सहकारी आवास, विद्युत, शिक्षा र विमा लगायतमा क्षेत्रमा जानुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी अधिवक्ता रमेश बडालले सहकारी ऐन २०७४ अभियानको नयाँ चरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले सहकारी प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीको दोस्रो दिन पुर्व गर्भनर युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नविन कर्ण लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि अन्तर्राष्ट्रिय प्रशिक्षक विपी रेग्मीले सफलताको शुत्र विषयक प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठी सहकारीलाई उत्पादनमा केन्द्रीत गरिनुपर्ने, मुल्य मान्यता र सिद्धान्तको परिपालना गर्दै स्वनियमन र व्यावसायीक नेतृत्व विकास मार्फत संघ संस्थाको विकासमा प्रतिबद्ध रहने, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकरी अभियानलाई बृद्धि गर्न नविनतम प्रविधि प्रयोगमा जोड दिने, सहकारी मैत्री कानुन निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकार समक्ष आव्हान गर्ने लगायतका सात बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ ।

दुई दिवसीय उक्त गोष्ठीमा देशभरका सहकारी संघ संस्थाहरुबाट सहभागी प्रतिनिधिहरु, विभिन्न विषयगत केन्द्रीय संघका पदाधिकारीहरु, जिल्ला सहकारी संघ र जिल्ला बचत संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *