नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रमका विषयमा आज वानेश्वरस्थित कार्यालयको सभाहलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजधानीका १० वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
साकोसहरुमा पर्न सक्ने जोखिमको विषय र त्यसको समाधानका लागि अपनाउनुपर्ने सावधानीका विषयमा अनुगमन अधिकृत हुमनाथ तिमिल्सीनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य दिपक पनेरु, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, कार्यक्रम विभाग प्रमुख सञ्जयराज तिमिल्सीना, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र अनुगमन अधिकृत शान्ता अधिकारी उपस्थित रहुनुभएको थियो । साकोस सञ्चालनमा पर्न सक्ने जोखिमका विषयमा सदस्य सेवा विभाग प्रमुख ढकाल र नेफ्स्कून सञ्चालक सदस्य पनेरुले सहभागीहरुका जिज्ञासाहरुमाथि टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आफू आवद्ध साकोसलाई तत्काल जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रममा सहभागी हुनको लागि समितिको वैठकमार्फत अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । नेफ्स्कूनले साकोस सञ्चालनमा पर्नसक्ने जोखिम व्यवस्थापनका लागि राजधानी केन्द्रीत भएर विभिन्न चरणमा कार्यक्रमहरु सञ्चालन गर्दैै आईरहेको छ । नेफ्स्कूनले यसै बर्ष काठमाडौं जिल्लाका १०० वटा सदस्य संस्थाहरुमा यो कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ ।
