पर्यटकीय नगरी पोखरा सहरलाई सहकारी पर्यटनको नमूना सहरको रुपमा विकास गर्नुपर्नेमा सहकारी अभियन्ता एवं नेफ्स्कूनका सञ्चालक भीम गुरुङले जोड दिनुभएको छ । नेफ्स्कून फिल्ड कार्यालय पोखराको आयोजनामा भाद्र २४ गतेदेखि शुरुवात भएको त्रि दिवसीय उच्च स्तरीय पर्ल्स अनुगमन तालिम समापन समारोहलाई संवोधन गर्ने क्रममा सञ्चालक गुरुङले सो कुरा बताउनुभएको हो । पोखरा सुन्दर पर्यटकीय सहर हो, यसलाई सहकारी क्षेत्रको विकास र विस्तार मार्फत नेपालकै नमूना सहकारी पर्यटन सहर बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी संस्थाको वित्तीय स्वास्थ्यलाई सँधै स्वस्थ राख्न पर्ल्स प्रणाली अनिवार्य छ, यसले वित्तीय जोखिम समयमै पहिचान गर्न सिकाउँछ र दुर्घटना हुनबाट समयमै जोगाउँछ । सबैले पर्ल्सका सूचकहरुलाई विशेष ध्यान दिनुपर्छ ।” म्यानेजर क्लब कास्कीका संयोजक मिलन ढकालले पर्ल्स अनुगमन तालिमले संस्थाको वित्तीय स्वास्थ्य मापन र सुधार गर्न सहयोग पुग्ने बताउनुभयो । तालिममा पोखराका विभिन्न १८ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट २४ जना तालिम प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । तीन दिनसम्म सञ्चालित उक्त तालिमका सहभागीहरुले तालिम अत्यन्त उपयोगी रहेको बताएका थिए । तालिम कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय बल्लभ तिमल्सिना र भरत न्यौपानेले गर्नुभएको थियो ।
