बचत तथा ऋण सहकारीहरुलाई आधुनिक प्रविधिमैत्री बनाइने

बचत तथा ऋण सहकारीहरुलाई आधुनिक प्रविधिमैत्री बनाइने

चन्द्रपुर, २२ आषाढ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक डा. कृष्ण पौडेलले मुलुकभरका बचत तथा ऋण सहकारीहरुलाई आधुनिक प्रविधिमैत्री बनाइने बताउनुभएको छ । आज रौतहटको चन्द्रपुरमा सहकारी तथा गरीवी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) को चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै डा. पौडेलले उक्त कुरा बताउनुभएको हो । डा. पौडेलले दुंनिया सूचना तथा प्रविधिको माध्यमबाट तीव्र विकासको दिशामा अघि बढिरहेको परिवेशमा सहकारीहरुले पनि यसलाई आत्मसात गरेर अघि बढनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

संसारको आर्थिक तथा भुक्तानी प्रणाली नगदरहित र चेकरहित डिजिटल माध्यमबाट अघि बढिरहेको छ । सहकारीहरुले समुदायका सबै सदस्यहरु विशेषतः गरीवहरुको जीवनशैलीमा रुपान्तरण ल्याउन आधुनिक विधि, प्रविधि र प्रणालीको माध्यमबाट सेवा दिन तयार हुनुपर्दछ । नेफ्स्कूनले मुलुकभर दीगो बचत तथा ऋण सहकारी संस्थाहरुमार्फत समुदायको जीवनस्तर परिवर्तन, ऋणधन, उद्यमव्यवसाय र समृद्धिका लागि सहजीकरण गरिरहेको डा. पौडेलले बताउनुभयो । नेफ्स्कूनले रणनीति, नीति, प्रविधि र उत्तम अभ्यासको स्थानीयकरण गरेर नेपालको सहकारी अभियानको प्रवद्र्धन, विकास र सुद्धीकरणका लागि काम गरिरहेको छ । सहकारीहरुलाई एकीकृत, व्यवस्थित, सुशासित र स्वनियमित बनाउन भूमिका खेलिरहेको बताउदै डा. पौडेलले वित्तीय सहकारीहरु समुदायको भावना अनुरुप काम गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय रौतहटका प्रमुख गोपाल बरालले सहकारीहरु स्वनियमित र अनुशासित सामाजिक अभियान भएकोले यसको प्रवद्र्धन र विकासमा राज्य गम्भिर रहेको बताउनुभयो । वित्तीय सहकारीहरुले समुदायको जीवनस्तर परिवर्तन र आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याइरहेको बरालले बताउनुभयो ।

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष खड्ग बमजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कून प्रदेश कमिटीका सदस्य देवकी नेपाल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष भोला गौतमलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कून हरिवन फिल्डकार्यालय प्रमुख राजेन्द्र ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र मकवानपुरका सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

सहकारी तथा गरीवी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रशिक्षणले सहकारीहरुको सञ्चालन र व्यवस्थापन प्रविधिमा आधारित बनाउदै रिपोटिङसमेत अनलाइन बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *