काठमाडौंको ढुंगेधारा, बालाजु र स्वयम्भू क्षेत्रका १३ भन्दा बढि साकोसहरुको सहभागितामा एकदिवशीय सहकारी एकीकरण आजको आवश्यकता विषयक अन्तरक्रिया कार्तिक १८ गते सम्पन्न भएको छ । राधेकृष्ण साकोसको आयोजना रहेको उक्त कार्यक्रममा सो क्षेत्रमा रहेका ११ वटा बचत तथा ऋण सहकारी संस्था र २ वटा बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० जना भन्दा बढिको उपस्थिति रहेको थियो । राधेकृष्ण साकोसका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साकोस अभियानको तर्फबाट नेफ्स्कूनका प्राचार्य सन्जय तिमिल्सीना र स्वतन्त्र विज्ञको रुपमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक राजन विक्रम थापाले दुई वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनको तर्फबाट “साकोस एकीकरण आजको आवश्यकता” विषयमा कार्यपत्र प्रस्तुत गर्दै साकोस अभियानको वर्तमान अवस्था, एकीकरणको आवश्यकता, एकीकरण कार्यविधि, एकीकरणका नविनतम प्रयास एवं अनुभव, नयाँ सहकारी ऐनको कार्यान्वयन र सहकारी अभियानको भावी दिशा लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुति पश्चात सहभागीहरुले अब वर्तमान अवस्थामा नै साकोस सञ्चालनको सम्भावना नदेखिएकोले एकीकरणको विकल्प नभएको बताएका थिए । कार्यक्रममा अर्का प्रस्तोता राजन विक्रम थापाले बैंकहरुले एकीकरण वा गाभिने अभ्यासबाट ठुलो फड्को मारेको र आफूले सहकारी क्षेत्रले पनि ठुलो पुँजी परिचालन मार्फत बजारमा नीजिकरणका प्रभावहरुलाई नियन्त्रण गरेका अन्तर्राष्ट्रिय अभ्यासबाट सहकारी पनि आर्थिक विकासको महत्वपूर्ण कडी हो भन्ने बुझाई विकास भएको बताउँदै अब सानो पुँजीको भरमा मात्र बजारमा प्रतिष्पर्धा गर्न असहज हुने भएकोले एकीकरणमा जान ढिलाई गर्न नहुने बताउनुभयो । राधेकृष्ण साकोसका उपाध्यक्ष लिलाराज ढकालले संस्थाको अवस्थाको बारेमा जानकारी गराउँदै सहभागीहरुलाई स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।
