बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (CCULB) र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(NEFSCUN) बीच फागुन २१ गते नेफ्स्कूनको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष डिवी बस्नेतले विविध समयमा हुने गरेका अवलोकन भ्रमण र अन्तक्रिया मध्येमै यसपटकको अन्तरक्रिया अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । नेपाल र बंगलादेश बीचका यस्ता सद्भाव भ्रमणले दुवै देशबीचको सहकारी प्रबद्र्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्ने अवसर प्राप्त हुने बताउनुभयो । भ्रमण टोलिलाई स्वागत गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनको कार्यदिशा, दक्षिण एशियाली मुलुकमा नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुले पाएको सम्मान तथा प्रशंसा र अबका दिनमा एशियाली राष्ट्रहरुसँगको सहकार्य र समन्वयबाटै सहकारी अभियानलाई निश्चित गति प्रदान गर्न सबैबीचको सहकार्य र ऐक्यवद्धताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको परिचय र गतिविधिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार मीनराज कँडेल, नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेत, उपाध्यक्ष पार्वती खाँड राई, महासचिव चन्द्रप्रसाद ढकाल, लेखासुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारी, प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारी लगायत नेफ्स्कून कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा CCULB का उपाध्यक्ष मोहमद अली जिना लगायत सहभागीहरुले नेपालको साकोस अभियान, साकोस एकिकरण र साकोस एकरुपताका विषयमाथि जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम विभाग प्रमुख सञ्जय तिमिल्सिनाले गर्नुभएको थियो । नेफ्स्कून र सिसियुलबी बीचको २१ औं सद्भावना भ्रमणका लागि शुक्रबार नेपाल आईपुगेका भ्रमण टोलिको नेतृत्व CCULB का उपाध्यक्ष मोहमद अली जिनाले गर्नुभएको छ भने उहाँहरुको नेपाल भ्रमण सहजताका लागि नेफ्स्कूनका कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिनाले नेतृत्व गर्नुभएको छ । सद्भावना भ्रमणका लागि नेपाल आईपुगेको बंगलादेशका बचत ऋण सहकारीर्मीहरुको १६ जनाको टोली आईतबार पोखराको सहकारी तथा पर्यटकीय स्थलको भ्रमणमा जाने कार्यक्रम रहेको छ । टोलिले भ्रमण अवधिभर काठमाडौं, भक्तपुर, काभ्रे र पोखरा लगायत जिल्लाका उत्कृष्ट सहकारी संस्थाहरुको अवलोकन गर्ने, सहकारी विभाग र सहकारीकर्मीहरुबीच अन्तक्रिया, सहकारी संस्थाहरुको असल अभ्यास र अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेफ्स्कूनबीच विगत ११ बर्षदेखि सद्भावना भ्रमण कार्यक्रमले निरन्तरता पाउँदैआईरहेको छ ।
